Video Of Day

Breaking News

‘शि-व’-‘त्यो जुन छैन’

 शिव को हुन् ? के उनी भगवान् हुन् ? वा मानव ? वा एउटा पौराणिक कथा मात्रै ? अथवा, यसको केही गहिरो अर्थ पनि छ, जुन केवल तिनका लागि उपलब्ध हुन्छ, जो खोजमा छन् ? शिवका बारेमा कैयौँ गाथाहरू र दन्त्यकथाहरू सुन्न पाइन्छन् । आखिर, को हुन् शिव ? आउनुहोस् जानौँ...



‘शिव’ को अर्थ

जब हामी ″शिव″ भन्छौँ, हामी दुईवटा मूलभूत पक्षहरूलाई सङ्केत गरिरहेका हुन्छौँ ।

‘शि–व’— ‘त्यो जुन छैन’

″शिव” को शाब्दिक अर्थ हो, “त्यो जुन छैन ।” आजको आधुनिक विज्ञानले हामीमाझ यो प्रमाणित गरिदिएको छ कि सबैथोक शून्यताबाट आउँछ, अनि पुनः शून्यतामै फर्किन्छ । अस्तित्वको आधार र यो ब्रह्माण्डको मूलभूत गुण नै विराट् शून्यता हो । त्यसमा भएका आकाशगंगाहरू सानातिना गतिविधिहरू मात्र हुन्— छिटाहरू जस्तै । बाँकी सबै विशाल खालीपन हो, जसलाई ″शि–व″ भनिन्छ । शिव नै त्यो गर्भ हो, जसबाट सबैथोकको जन्म हुन्छ; शिव नै त्यो अन्धकार पनि हो, जसले सबैथोकलाई आफूभित्र सोस्दछ । सबैथोक शिवबाटै आउँछन्, अनि सबैथोक पुनः शिवमै फर्किन्छन् ।

शिव— अन्धकार !

त्यसैले, शिवलाई “अस्तित्वहीन” भनिन्छ— अस्तित्व होइन । शिवलाई प्रकाशको रूपमा नभई अन्धकारको रूपमा बयान गरिन्छ । मानिसहरू प्रकाशको गुणगान गाउँछन्, किनकि उनीहरूको आँखाले उज्यालोमा मात्रै काम गर्दछ । तर, अन्धकार सदैव रहिरहेको छ । प्रकाशको अस्तित्व सीमित छ भनेर कुन सन्दर्भमा भनिएको हो भने, प्रकाशको स्रोत जेसुकै भएपनि— चाहे बिजुली बल्ब होस् वा सूर्य— अन्ततः यसले उज्यालो छर्ने क्षमता गुमाउने छ । प्रकाश शाश्वत (कहिल्यै नाश नहुने) हुँदैन । यो सदैव सीमित सम्भावना हो, किनकि यसको शुरु र अन्त्य हुन्छ । उज्यालोको दाँजोमा अन्धकार निकै विशाल सम्भावना हो । किनकि, अन्धकारको लागि कुनै पनि चिज जल्नुपर्दैन, यो सधैँ रहिरहन्छ— अन्धकार शाश्वत हो । अन्धकार जताततै हुन्छ । अन्धकार मात्र त्यस्तो हो, जुन सर्वत्र व्याप्त छ ।

तर, यदि मैले “दिव्य अन्धकार” भनेँ भने, मानिसहरू मलाई राक्षसको उपासक वा यस्तै अरू केही ठान्छन् । खासमा भन्नुपर्दा, पश्चिमका केही स्थानहरूमा यो प्रचार गरिएको छ कि शिव राक्षस हुन् ! तर, यदि तपाईं यसलाई एउटा परिकल्पनाको रूपमा हेर्नुहुन्छ भने, सृष्टि र यसको सृजनाको समग्र प्रकियाको बारेमा पूरै विश्वमा योभन्दा स्पष्ट र बुद्धिमानी परिकल्पना अर्को छैन । शिव शब्दको प्रयोग नगरिकनै, मैले विश्वका विभिन्न वैज्ञानिकहरूसँग यस विषयमा कुरा गरिरहेको छु । उनीहरू जिल्ल पर्छन् । “ए त्यस्तो पो हो ? यो पहिल्यै थाहा थियो ? कहिले ?” हामीले यो कुरालाई हजारौँ वर्षदेखि जानेका छौँ । लगभग सबैजसो सामान्य किसानलाई अनजानमै यसको बारेमा थाहा छ । यसको पछाडि रहेको विज्ञान थाहा नभइकनै उनीहरू यसबारे कुरा गर्छन् ।

शिव— एउटै शब्दका दुई अर्थहरू

अतः शिव शब्दले “त्यो जुन छैन” अनि “आदियोगी” दुवैलाई जनाउँछ । किनकि, यी दुवै पर्याय हुन् । यी— जो योगी हुन्— अनि त्यो— जुन अस्तित्वको आधार हो— दुवै एकै हुन् । किनकि, कसैलाई योगी भन्नुको अर्थ के हो भने, उनले अस्तित्वलाई स्वयंको रूपमा अनुभव गरेका हुन्छन् । यदि तपाईंले अस्तित्वलाई एक क्षणको लागि पनि आफूमा समाहित गर्नुपर्ने हो भने, तपाईं त्यो शून्यता बन्नुपर्छ । शून्यताले मात्रै सबैथोकलाई थामेर राख्न सक्दछ । कुनै वस्तुले सबैथोक थाम्न सक्दैन । एउटा भाँडोमा समुद्र अटाउन सक्दैन । यो ग्रहमा समुद्र अटाएको छ, तर यसमा सौर्य मण्डल अटाउन सक्दैन । सौर्य मण्डलमा केही ग्रहहरू र सूर्य अटाएका छन्, तर यसमा बाँकी आकाशगङ्गाहरू अटाउन सक्दैनन् । यदि तपाईं यसैगरी जानुभयो भने, अन्ततः तपाईंले यो देख्नुहुनेछ कि शून्यताले मात्रै सबैथोक आफूमा समाहित गर्न सक्दछ । योग शब्दको अर्थ मिलन हो । योगी ती हुन्, जसले यो मिलन वा एक हुनुको अवस्थालाई अनुभव गरेका हुन्छन्— अर्थात्, कम्तीमा एक क्षणको लागि भएपनि उनी पूर्ण शून्यता बनेका हुन्छन् ।

शिव शब्दका दुई अर्थहरू— “त्यो जुन छैन” र “आदियोगी”— एक स्तरमा एकअर्काका पर्याय भए तापनि दुवै भिन्नभिन्न पक्षहरू हुन् । यो प्रतीकात्मक संस्कृति भएकोले, हामी सजिलै यसबाट त्यसमा अनि त्यसबाट यसमा ओहोर–दोहोर गरिरहन्छौँ । यो क्षणमा हामी शिवलाई शून्यता (जसभन्दा पर केही छैन) भनेर सम्बोधन गर्छाैँ; अर्को क्षणमै हामी शिवलाई ती योगीको रूपमा सम्बोधन गर्छाैँ, जसले मानवतालाई योगको समग्र प्रक्रिया प्रदान गरेका थिए ।

योग संस्कृतिमा, शिवलाई भगवान्‌को रूपमा हेरिँदैन । उनले यस धरतीमा पाइला राखेका थिए अनि उनी हिमालयमा बसोबास गर्दथे । योग परम्पराहरूको स्रोत र जनकको रूपमा, मानव चेतनालाई माथि उठाउनमा उनको जे–जति योगदान छ, त्यो यति अद्भुत छ कि त्यसलाई बेवास्ता गर्न सकिँदैन । जे–जति तरिकाहरूमार्फत मानव प्रणालीलाई परम सम्भावनामा रूपान्तरण गर्न सकिन्छ, ती हजारौँ वर्षअघि नै आफूभित्र खोज गरेर पत्ता लगाइएको थियो । यसको गहनता र जटिलता अविश्वसनिय छ । त्यसबेलाका मानिसहरू सुसंस्कृत र बौद्धिक थिए कि थिएनन् भन्ने प्रश्नले कुनै अर्थ राख्दैन, किनकि यो कुनै निश्चित सभ्यता वा वैचारिक प्रकियाबाट जन्मिएको होइन । यो भित्री बोधबाट प्रकट भएको थियो । उनको सेरोफेरोमा के भइरहेको थियो भन्ने कुरासँग यसको कुनै सम्बन्ध छैन । यो आदियोगी स्वयंको उद्गार हो, उद्वलेन हो । उनले पूरै विस्तृत रूपमा मानव प्रणालीमा हुने हरेक केन्द्रको अर्थ दिए, साथै ती केन्द्रहरूसँग हामी के गर्न सक्छौँ भन्ने सम्भावना समेत पूरै विस्तारमा बताए । जे–जति भन्न सकिन्थ्यो, ती सबैलाई उनले यति सुन्दर र कुशल तरिकाले बताएका थिए कि आजको दिनसम्म पनि तपाईं एउटा पनि कुरालाई बदल्न सक्नुहुन्न । तपाईं केवल त्यसको अर्थ पत्ता लगाउने प्रयासमा आफ्नो पूरै जीवन बिताउन सक्नुहुन्छ ।

यस संस्कृतिमा, परापूर्व कालमा, अधिकांश मन्दिरहरू शिवका निम्ति मात्र बनाइएका थिए— अरू कसैका लागि होइन । पछिल्लो १००० वर्षमा मात्र, अरू मन्दिरहरू निर्माण गरिएका हुन् । शिव अर्थात् “त्यो जुन छैन ।” अतः “त्यो जुन छैन” को लागि मन्दिरहरू निर्माण गरिएका थिए । “त्यो जुन छ” भौतिक हुन्छ । “त्यो जुन छैन”, भौतिकभन्दा पर हुन्छ । मन्दिर यस्तो द्वार हो, जसमार्फत तपाईं त्यहाँ पुग्नुहुन्छ “जुन छैन” । शिवका निम्ति हजारौँ मन्दिरहरू निर्माण गरिएका छन्, अनि अधिकांश मन्दिरहरूमा कुनै मूर्ति छैन । त्यहाँ प्रतीकको रूपमा लिङ्ग राखिएको हुन्छ ।


No comments

Please do not enter any Spam link in the Comments box.